बुटवल । कलकल बगिरहने रोहिणी नदी । नदीको छेउमा रहेको करिब १५ बिगाहाको ठूलो बगैचा । सोही बगैचा भित्र रहेको छ साढे ३ सय वर्ष पुरानो एतिहासिक सतियामाई राम जानकी मन्दिर । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नजिकमा रहेको रोहिणी नदीको छेउमै पुर्वतिर रहेको सतियामाई राम जानकी मन्दिरले बाटो हिड्ने जो कोहीको पनि ध्यान केन्द्रित गर्ने गर्छ ।
भैरहवाबाट करिब करिब १० किलोमिटरको दुरीमा रहेको एतिहासिक सतियामाई मन्दिर र मन्दिर परिसरमा रहेका अन्य महत्वपुणर् धार्मिक मन्दिरहरुले त्यहाँको वातावरण नै सुन्दर, शान्त र अलौकिक बनाएको पाइन्छ । कलकल बगिरहने रोहिणी, चारैतिरबाट सरसर बह्ने सित्तल हावा, शान्त वातावरण र त्यहाँको मनोरम दृष्यले झनै त्यहाँ पुग्ने दर्शनार्थीहरुलाई लोभ्याउने गर्दछन् ।
साविकको पटखौली गा. वि. स वडा नम्बर ८ हालको ओमसतिया गाउँपालिका वडा नम्बर ५ गौरीमा रहेको सतियामाई राम जानकी मन्दिर परिसरमा सतियामाई, हनुमान मन्दिर, राम जानकी मन्दिर र शिव मन्दिरको दर्शन गर्न पाइन्छ । मन्दिरमा भाकल लिएर आउने भक्तजनहरुको भाकल सधैं पूरा हुने गरेको मन्दिरका महन्थ श्री श्री १०८ जोगिन्दर दासले बताए । मन्दिरमा खासगरी सन्तान प्राप्तिको कामना लिएर आउने दम्पतिहरुको कामना पूरा हुने गरेको उनको भनाई छ । एतिहासिक महत्व बोकेको सतियामाई मन्दिरको आफ्नो छुट्टै कहानी छ ।
तत्कालिन ओमसतिया गाउँपालिका वडा नं. ५ तरैनी गाउँकी बितनीको विवाह मटियरिया गाउँमा भएको थियो र उनको मृत्यु हैजा महामारीकाका बेला भएको जगदीशधर दुवेले लेखेको ओमसतिया माई महात्ममा उल्लेख छ । महामारीका कारण मृत्यु भएकोले उनलाई जलाउनुका सट्टा जमिनमा गाडिएको थियो । उनी मरे पनि आफ्ना घरपरिवारलाई आफु नमरेको पटक पटक सपनामा भन्ने गरेको तर परिवारलाई उक्त कुरा विश्वास नलागेको दुवेद्धारा लिखित उक्त महात्ममा लेखिएको छ । दिन बित्दै जाँदा उनी गाडिएको ठाउँबाट धुँवा निस्किएको र पछि त्यहाँ खनेर हेर्दा निज बितनी जिवितै रहेको किंवदन्ती छ । उनलाई जिवितै देखेपछि उनको घरपरिवारले घर जान आग्रह गरे तर उनी घर जान मानिनन् । उनले आफ्नो घरपरिवारसँग भनिन्, ‘म मरिसकेको छु त्यसैले म अब घर जान्न यही रोहिणी नदीको किनार सिलौटियामा जिवन बिताउँछु ।’ पछि सोही स्थान सतियामाईको नामले चिनिएको ईतिहास छ ।
नेपालको संविधान २०७२ ले सतियामाई मन्दिरको नामबाट ओमसतिया गाउँपालिका नामाकरण गर्यो । स्थानीय तह संरचना हुनुभन्दा पहिला सतिया माई मन्दिरको नाममा केही स्थानीयले अगुवाहरुले कमाई खाने भाँडोका रुपमा लिएका थिए तर पछि गाउँपालिकाले उक्त मन्दिरलाई आफ्नो व्यवस्थापनमा लिई संरक्षण गरेको छ । हरेक वर्ष मन्दिरमा कात्तिक एकादशी देखि पुर्णिमा सम्म मेला लाग्ने गरेको छ । मन्दिरको देखभाल तथा मन्दिरमा रहेर पूजापाठ गर्ने साधुसन्तका लागि आवश्यक भौतिक पूर्वाधारहरुको व्यवस्था गरिएको छ । मन्दिरमा रंगरोगन गरी सिंगारिएको छ । मन्दिर संरक्षणका लागि पर्खाल बनाइएको छ ।
मन्दिर भित्र दाहिने तर्फ पहेँलो मूर्ति र पहेँलो वस्त्र धारण गरेको मूर्ति नै सतियामाईको मूर्ति हो भने, बायाँतर्फ हनुमानको मूर्ति रहेको छ। सतियामाईको मन्दिर सानो रहेको छ र यो स्थल सतियामाईको नामबाट निकै नै प्रख्यात रहेको छ। यस मन्दिर नजिकै राम जानकी मन्दिर लगायत विभिन्न मन्दिरहरू रहेका छन्।
यी सतियामालाई बच्चाहरूको संरक्षिकाको रूपमा स्थानीयवासी पूजा अर्चना गर्दछन्। स्थानीयवासीका अनुसार बच्चाहरू बिरामी परेमा यिनको पूजा अर्चना गर्नाले निको हुने जनविश्वास समेत रहेको छ। सतियामाईको मन्दिरमा कात्तिक पूर्णिमाको दिन मेला लाग्ने गर्दछ
यहाँ कमी छ त केवल प्रचार प्रसारको । पछिल्लो समय गाउँपालिकाले सतियामाईको व्यापक प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेको देखिन्छ ।
गाउँपालिकाले एतिहासिक महत्व बोकेको उक्त मन्दिरको वृहत् प्रचारप्रसार गर्नुपर्ने देखिन्छ । उक्त मन्दिरले पर्यटनको ठूलो सम्भावना बोकेको छ । गाउँपालिकाको नाम समेत सोही मन्दिरको नामबाट नामाकरण भएको कारण पनि सतियामाई मन्दिरको बारेमा व्यापक प्रसारप्रसार गर्नुपर्ने स्थानीयहररु बताउँछन् । यदि उक्त मन्दिरको व्यापक प्रचारप्रसार गर्न सकियो भने आन्तरिक पर्यटकका साथै बाह्य पर्यटकहरुको आगमन बढाउन सकिन्छ ।
ओमसतियाको बारेमा संक्षिप्त जानकारी
नेपालमा ७५३ स्थानीय तह लागू हुँदा रुपन्देही जिल्लामा साविकका पडसरी, हाटी फर्साटिकर, बसन्तपुर, पटखौली र छोटी रामनगर गाउँ विकास समितिहरूलाई समेटेर ओमसतिया गाउँपालिका बनाइएको हो । गाउँपालिकाको कूल जनसंख्या ३४,१९१ रहेको छ । यसको क्षेत्रफल ४८.५४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको फर्साटिकर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ ।
भगवान बुद्धको पावन जन्मस्थल लुम्बिनी र मावली गाउँ देवदह भएको नेपालको प्रदेश नं. ५ मा अवस्थित रुपन्देही जिल्लामा पर्ने एक गाउँपालिका हो ओमसतिया गाउँपालिका । यो गाउँपालिका नेपालका ७५३ वटा स्थानीय तहमध्येको एक स्थानीय तह हो । यो गाउँपालिका साविकका पडसरी, हाटी फर्साटिकर, बसन्तपुर, पट्खौली र छोटकी रामनगर गााँउ विकास समितिहरु समायोजन भई घोषणा भएको हो ।साविकका ५ वटा गाविसहरुलाई समायोजन गरि नयाँ ६ वडाहरु बनाईएको हो । साविकको पडसरी गाविसका ५, ७, ८ र ९ वडालाई हालको १ नंम्बर वडा कायम गरेको छ भने, १, २, ३, ४, ६ वडाहरुलाई हालको २ नंम्बर वडा कायम गरिएको छ । यस्तै साविकका हाटीफर्साटिकर गाविसलाई ३ नम्बर वडा, साविकको बसन्तपुर गाविसलाई ४ नम्बर वडा, साविकको पट्खौली गाविसलाई ५ नम्बर वडा र साविकको छोटी रामनगरलाई हालको ६ नम्बर वडा घोषणा गरेको छ भने गाउँपालिकाको केन्द्र साविकको हाटी फर्साटिकर गाविसको कार्यालयमा राखिएको छ ।
कुल क्षेत्रफल ४८.५४ वर्ग किलोमिटर रहेको यस गाउँपालिकाको कुल जनसंख्या ३४ हजार १ सय ९१ रहेको छ । पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा सिद्धार्थ नगरपालिका, मायादेवी र सियारी गाउँपालिका, उत्तरमा देवदह र तिलोत्तमा नगरपालिका, उत्तरमा देवदह र तिलोत्तमा नगरपालिका र दक्षिणमा रोहिणी गाउँपालिका रहेको यो गाउँपालिकाको बनावट समथर रहेको छ । प्राकृतिक छटाले भरिपूर्ण यस गाउँपालिमा अधिकांश मधेशी वर्गका विभिन्न जातीका मानिसहरु बसोबास गर्दछन । जस्तै यादव, कुर्मी, हरिजन, पासी , मुराव, बाह्मण, मुसलमान आदी । यहाँ मुख्य पेशा भनेका कृषि नै हो तर यहाँका मानिसहरु विभिन्न किसिमका व्यवसाय पनि गर्दै आईरहेका छन ।
खानेपानीमा धेरै जसो घरपरिवारले घरमै रहेको चापाकल धाराको पानी प्रयोग गरेको पाईन्छ भने केहि परिवारले सार्वजनिक आटिजन बोरिङ्गको पानी खाएको पाइन्छ । पानीको क्षेत्रमा यस गाउँपालिका भित्र सुलभता पाईएको हुदा जमिन मुनिको पानीलाई विभिन्न क्षेत्रबाट उपयोगमा ल्याई कृषि क्षेत्रमा लगाउन सकेमा बर्षभरी नै हरियाली गाविसको रुपमा चिनाउन सकिन्छ । नेपाल चार जात छत्तिस वर्णको फुलवारी भएजस्तै यस गाउँपालिकाभित्र पनि विभिन्न धर्मालम्बिहरु बसोबास गरेको पाईन्छ । सबै धर्मलाई समानताका रुपमा उच्च मूल्यांकन गरिएको यस गाउँपालिकामा विभिन्न जातजातिहरु जस्तै थारु, बाह्मण, क्षेत्री, मगर, मधेशी, तराईवासी आदिहरु एकआपसमा आफ्नो अस्तित्वमा राखी बसेका पाईन्छ ।