जनकपुरधाम । मधेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत, नेकपा एकीकृत समाजवादीसहितका दलले प्रदेश प्रमुखलाई नयाँ सरकार गठनका लागि ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन् ।
जसपा नेतृत्वको मधेश सरकार अल्पमतमा रहेकाले नयाँ सरकार गठनका लागि आह्वान गर्न बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउने ती दलहरुले तयारी गरेका हुन् ।
गत जेठ १७ गते एमाले, नेकपा माओवादी केन्द्र र जनमतले नयाँ सरकार बनाउने सहमति गरेको थियो । एकीकृत समाजवादीसमेत सकारात्मक भएपछि नयाँ सरकार गठनको लागि अघि बढेको एक सांसदले बताए । त्यसमा लोसपा र अन्य १–१ सिटको दलहरुसहितको बहुमत पेश गर्ने तयारी भएको स्रोतको दाबी छ ।
यद्यपि लोसपा अहिलेसम्म अलमलमै छ । लोसपा नमिलेपनि एकीकृत समाजवादीको सहभागिताले सरकार बन्ने निश्चितजस्तै छ ।
१०७ सदस्य मधेश प्रदेश सभामा सभामुखबाहेक २४, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । यो संख्या ५३ पुग्छ । १–१ सिट भएको नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीमध्ये एउटालाई मात्र जोडेपनि सरकारको लागि आवश्क पर्ने बहुमत संख्या ५४ पुग्छ ।
लोसपाका संसदीय दलका नेता अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएर निलम्बित छन् ।
यस्तो अवस्थामा १०६ प्रदेश सांसदमा एमालेकै सभामुख रहेकाले अन्तिम अवस्थामा उनको मत पनि निर्णायक हुने देखिन्छ ।
३० वैशाखमा नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । २१ जेठदेखि संसदको अधिवेशन आह्वान गरिएको छ र २३ जेठमा उनले विश्वासको मत लिने तयारी गरेका छन् ।
बहुमतसहित ध्यानाकर्षण पत्र बुझाए मुख्यमन्त्री यादव विश्वासको मत नलिँदै नैतिकताको आधारमा राजिनामा दिन दबाब पुग्ने उनीहरुको दाबी छ ।