Advertisement

जापानमा फुल्दै मखमली, बलियो बन्दै नेपाली पहिचान: गोर्खा पिकको प्रेरणादायी शैक्षिक अभियान

चिवा, जापान। विदेशको परिवेशमा हुर्किरहेका नेपाली बालबालिकालाई आफ्नो जन्मभूमिको माटो, भाषा र संस्कृतिसँग जोडिराख्नु आजको महत्वपूर्ण चुनौती बनेको छ।
भाषा, संस्कृति र परम्परासँगको दूरी बढ्दै जाँदा उनीहरूलाई आफ्नै पहिचानसँग जोड्नु आजको प्रमुख चुनौती बनेको छ। यही चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै चिबा प्रिफेक्चरको साकुरा सिटीस्थित गोर्खा पिक इन्टरनेशनल स्कुल (GPIS) ले शिक्षा र संस्कृतिको अद्भुत संगम प्रस्तुत गरेको छ।
विद्यालयले सञ्चालन गरिरहेको ‘GPIS Discovery Farm’ कार्यक्रम केवल बोटबिरुवा रोप्ने अभ्यास मात्र होइन, नेपालीपनको बीउ नयाँ पुस्ताको मनमा रोप्ने अभियान बनेको छ। व्यावहारिक सिकाइसँगै विद्यार्थीहरूलाई आफ्नो माटो, संस्कृति र चाडपर्वसँग भावनात्मक रूपमा जोड्ने उद्देश्यले विद्यालयले तिहारलाई लक्षित गर्दै मखमली फूल रोप्ने विशेष कार्यक्रम सम्पन्न गरेको हो।
जापानका सफल व्यवसायी तथा समाजसेवी डिलाराम खरेलको अध्यक्षतामा सञ्चालित यस विद्यालयले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई आफ्नै हातले हुर्काएका मखमलीका बेर्ना गमलामा सार्ने अवसर प्रदान गर्‍यो। माटोसँग खेल्दै, साथीहरूसँग सहकार्य गर्दै र जिम्मेवारी बाँड्दै उनीहरूले गरेको यो श्रम केवल बगैँचा सजाउने काम थिएन; यो त आफ्नै संस्कृति र मौलिक पहिचानसँग जोडिने एउटा जीवन्त अभ्यास थियो।
केइसेई–साकुरा स्टेशन नजिकै रहेको विद्यालयको आफ्नै फार्ममा विद्यार्थीहरूले उत्साहपूर्वक मखमलीका बेर्ना सारे। अहिले ती गमलाहरू विद्यालय परिसरमा सजाइएका छन्। तिहारसम्म बालबालिकाले आफैँ गोडमेल, स्याहार–सुसार र संरक्षण गर्नेछन्। जब ती फूलहरू ढकमक्क फुल्नेछन्, त्यतिबेला उनीहरूले केवल फूल मात्र होइन, आफ्नै संस्कृतिप्रतिको आत्मीयता पनि फुलाएको अनुभूति गर्नेछन्।


विद्यालयका फ्याकल्टी डिरेक्टर एवं उपाध्यक्ष पर्शुराम खरेलका अनुसार, “विदेशमा हुर्किएका बालबालिकालाई केवल पाठ्यपुस्तकको ज्ञानले मात्र पुग्दैन। उनीहरूले आफ्नो भाषा, संस्कृति र मौलिक पहिचानलाई व्यवहारमै अनुभूति गर्नुपर्छ। मखमली रोप्ने र हुर्काउने यो अभियानले उनीहरूलाई तिहारको सांस्कृतिक महत्त्वसँग मात्र होइन, मातृभूमिप्रतिको आत्मीयतासँग पनि जोड्ने विश्वास लिएका छौँ।”
गोर्खा पिक इन्टरनेशनल स्कुलले नर्सरीदेखि युकेजीसम्म जापानी होइकेन शिक्षण प्रणाली र कक्षा १ देखि ५ सम्म नेपाली पाठ्यक्रमलाई समिश्रण गरेर अध्यापन गराउँदै आएको छ।

आधुनिक प्रविधिमैत्री शिक्षा, जापानी अनुशासन र नेपाली भाषा–संस्कृतिलाई एउटै शैक्षिक छानामुनि समेट्दै विद्यालयले जापानमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ।
विदेशको व्यस्त जीवनमा नयाँ पुस्तालाई विश्वस्तरीय शिक्षा दिनु मात्र होइन, आफ्नै जरा, भाषा, संस्कार र मातृभूमिसँग पनि जोडिराख्ने उद्देश्यसहित सञ्चालन गरिएका यस्ता सिर्जनात्मक कार्यक्रमले गोर्खा पिक इन्टरनेशनल स्कुललाई अन्य विद्यालयभन्दा फरक बनाएको छ। मखमलीका फूलसँगै नेपालीपन पनि फुलाउने विद्यालयको यो प्रयास जापानमा रहेका नेपाली समुदायका लागि प्रेरणादायी उदाहरण बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *