Advertisement

बाल सुधार गृहलाई आवासीय विद्यालयको मोडेलमा विकास गर्न सुझाव

बुटवल  । प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले बाल सुधार गृहलाई शिक्षा र पुनर्स्थापनालाई प्राथमिकतामा राखेर आवासीय विद्यालयको मोडेलमा विकास गर्नुपर्ने बताउनुभएको छ।

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा लुम्बिनी प्रदेशको अनुगमन टोलीको नेतृत्व गर्दै प्रस्तुतीकरण गर्नुहुँदै पौड्यालले बाल सुधार गृहमा रहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषण, मनोसामाजिक परामर्श, खेलकुद र सीप विकासको अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

उहाँले बाल सुधार गृहमा सुरक्षा मात्र नभई बालबालिकाको भविष्य निर्माण र समाजमा पुनःस्थापनालाई पनि केन्द्रमा राख्नुपर्ने बताउनुभयो। साथै बालगृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा रहेका व्यक्तिले राज्यबाट पाउने सेवा–सुविधा सहज रूपमा प्राप्त गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ।

समितिले अनुगमनबाट प्राप्त निष्कर्षका आधारमा सम्बन्धित मन्त्रालय र निकायलाई सेवा, सुविधा र अधिकार सुनिश्चित गर्न आवश्यक सुझाव तथा निर्देशन दिएको छ। बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालयसहित सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *