रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ स्थित तिलगंगा टोल विकास संस्थाको ११औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष महेन्द्रजङ्ग रायमाझीको अध्यक्षता तथा बुटवल–१६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो
।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले टोलको विकासका लागि स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले टोलको सरसफाइ, सामाजिक एकता र स्थानीय विकासका गतिविधिमा टोल विकास संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि संस्थालाई वडा कार्यालयबाट आवश्यक सहयोग र समन्वय रहने बताउनुभयो।
संस्थाका अध्यक्ष रायमाझीले तिलगंगा टोलको विकास, सरसफाइ तथा सामाजिक गतिविधिलाई प्रभावकारी बनाउन संस्थाले निरन्तर काम गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि स्थानीयवासीको सहकार्यमा टोलका समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नवरत्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश कर्माचार्य, सेमलार खानेपानी तथा सरसफाइ संस्थाकी उपाध्यक्ष कोपिला थापा, पूर्व वडा अध्यक्ष रामप्रसाद रेग्मी तथा नवरत्न माध्यमिक विद्यालयका प्राचार्य हेमराज आचार्य लगायतले टोल विकास संस्था स्थानीय समुदायको विकास र सामाजिक एकताका लागि महत्वपूर्ण आधार भएको धारणा राख्नुभएको थियो।
सो अवसरमा तिलगंगा टोल विकास संस्थाभित्र रहेका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाउनुका साथै प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो। कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव मीनादेवी कुँवरले गर्नुभएको थियो।