स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको पदबहालीको २ बर्ष पूरा भएको उपलक्ष्यमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्ने उदेश्यले गाउँपालिकाले एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
शुक्रबार गाउँपालिकाको केन्द्र शान्तिपुरमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट सुगर, प्रेसर, थाइराईड्स, दम, पेट, छाती, यौनरोग, हाडजोर्नी तथा नशारोग, महिला प्रसुती तथा स्त्री रोग, छाला तथा यौन रोग यूरो सर्जन रोगका बिरामीले सेवा लिएको चन्द्रकोट गाउँपालिका उपाध्यक्ष विष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । फजिसियन सेवा तर्फ ५ सय ८०, हाडजोर्नी तथा नशारोग तर्फ ३ सय ४७ जना महिला प्रसुती तथा स्त्री रोग तर्फ १ सय ६० युरो सर्जन तर्फ २४, छाला तथा यौन र आँखा उपचारमा १५९, प्रयोगशाला तर्फ १ सय ५४ जना सर्वसाधारणले शिविरबाट सेवा लिएका छन् । एकदिने बृहत स्वास्थ्य शिविरमा चन्द्रकोटबासी संगै सत्यवती, वाग्लुङ्गको बरेङ लगायतका स्थानका केही नागरिकले समेत निःशुल्क स्वास्थ्य परिक्षण गराएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो ।
एकदिने शिविरबाट कुल १ हजार ७५४ जना सर्वसाधारण लाभान्वित भएका छन् । राम्रो र गुणस्तरीय स्वास्थ्य सेवा लिनको लागि यहाँका नागरिक पाल्पा, बुटवल, काठमाडौं लगायतका ठुला अस्पत्ताल पुग्नु पथ्र्यो तर, गाउँपालिकाले गाउँमै स्वास्थ्य शिविर संचालन गरिदिएपछि बाहिर जानुपर्ने बाध्यता हटेको सर्वसाधारण बताउँछन् । उनिहरुले यस्तै कार्यलाई निरन्तरता दिन समेत आग्रह गरेका छन ।
गाउँपालिका भित्रका असाहय तथा आर्थिक अभावका कारण स्वास्थ्य चेक जाँचबाट बन्चित नागरिकलाई सेवा प्रदान गर्ने हेतुले निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो । निर्वाचनको समयमा जनतालाई दिएका प्रतिवद्धता पुरा गर्न र जनप्रतिनिधिको पदबहालीको २ बर्ष पुगेको अवसरमा शिविर राखिएको अध्यक्ष केसीको भनाई छ । उहाँले नागरिकलाई सहज तरिकाले स्वास्थ्य सेवा प्रदान गर्नका लागी शिविरको आयोजना गरिएको बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएर उपचारबाट बन्चित भएका नागरिकलाई गाउँ तहमै विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गरिएको हो । गाउँपालिका भित्रका अशक्त गरिब नागरिकले यस शिविर मार्फत थप प्रभावकारी र सहज रुपमा स्वास्थ्य सेवा पाएका छन् । जनताको स्वास्थ्य नै हाम्रो स्वास्थ्य हो भन्ने नाराका साथ निःशुल्क बृह्त स्वास्थ्य शिविर आयोजना गरेको गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
गाउँपालिकाको वार्षिक कार्यक्रममा बजेटको व्यस्थापन गरि जनताको आधारभुत स्वास्थ्य आवश्यकतालाई मध्ये नजर गरी शिविर आयोजना प्रमुख प्रशाकीय अधिकृत बृद्ध प्रकाश पौडेलले गरेको बताउनुभयो ।