फर्साटिकर।
ड्रीम भिजन स्कुल अफ फर्साटिकरले हालै सम्पन्न एसईइ परीक्षामा सहभागी सबै २३ जना विद्यार्थीको १०० प्रतिशत सफलताको गौरवपूर्ण अवसरमा विशेष सम्मान तथा बधाई कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ।

उल्लेखनीय उपलब्धिसँगै ४.० जिपिए ल्याउँदै विद्यालयको गौरव बढाएकी कृपा उपाध्यायलाई नगद रु ५०,००० (पचास हजार) सहित सम्मान गरिएको छ। उहाँको यो उपलब्धिले सम्पूर्ण विद्यालय परिवारलाई गर्व र प्रेरणाको श्रोत बनाएको छ।
कार्यक्रमको अध्यक्षता कार्यकारी निर्देशक चुडामणी डुम्रेद्वारा गरिएको थियो भने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइको गरिमामय उपस्थिति रहेको थियो। विशिष्ट अतिथि शुद्धोदन गाउँपालिकाका प्रवक्ता केशव प्रसाद अधिकारी रहनुभएको कार्यक्रमलाई अझ भव्य बनाएको थियो।
प्राचार्य रुपा पराजुली डुम्रेद्वारा कार्यक्रमको स्वागत मन्तव्य दिइएको थियो भने सञ्चालन विद्यालय इन्चार्ज चन्दा आचार्यले कुशल रूपमा गर्नुभएको थियो।

कार्यक्रममा ४.० जिपिए हासिल गरेकी कृपा उपाध्याय, प्रमुख अतिथि चपाई र विशिष्ट अतिथि अधिकारीले आफ्ना मन्तव्य राखी विद्यार्थीहरूलाई उज्वल भविष्यको शुभकामना दिनुभयो।
कक्षा ६ देखि १० सम्मका झन्डै २०० जना विद्यार्थीहरूले गीत, कविता, गजल र मन्तव्य मार्फत सफल दिदी–दाजुहरूलाई हार्दिक बधाई तथा शुभकामना प्रकट गरे।

कार्यक्रममा करिब ३०० जना अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका उत्कृष्ट शिक्षकहरू विजय पराजुली, मनोज ढकाल, राधा खनाल र नवीन खत्रीलाई उत्कृष्ट नतिजामा योगदान दिएकोमा दोसल्ला र पुरस्कारसहित सम्मान गरिएको थियो।

अन्त्यमा अध्यक्ष चुडामणी डुम्रेले सम्पूर्ण उपस्थित महानुभावहरू, अभिभावक, विद्यार्थी र अतिथिहरूलाई विशेष धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गर्नुभयो।
