बुटवल ।प्रदेश नं. ५ सहित आसपासका पहाडी तथा तराई जिल्लाका नागरिकका लागि बुटवल लायन्स आँखा अस्पताल पछिल्ला वर्षमा अत्यन्तै भरोसायोग्य र प्रमुख आँखासेवा केन्द्रका रूपमा स्थापित हुँदै आएको छ। १९९६ मा स्थापना भएर २६ वर्षभन्दा बढी समयदेखि सेवा प्रदान गर्दै आएको यो अस्पताल बुटवल उपमहानगर–११ मा अवस्थित छ। रुपन्देहीका विभिन्न क्षेत्र साथै नवलपरासी, अर्घाखाँची, कपिलवस्तु ,पाल्पा र गुल्मीबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गरेका छन्। समुदायमै पुगेर आँखा परीक्षण, शिविर सञ्चालन तथा विद्यालयस्तरीय स्वास्थ्य शिक्षा कार्यक्रम मार्फत यस संस्थाले शहरदेखि गाउँसम्म समानरूपमा सेवा पु¥याउँदै आएको छ।
अस्पतालका व्यवस्थापक आनन्द प्रसाद गौडका अनुसार पछिल्ला वर्षमा दैनिक बिरामी संख्या उल्लेखनीय रूपमा बढेको छ। उनले भने, “हाल दैनिक २०० देखि ३०० जनासम्म बिरामी सेवा लिन आउनुहुन्छ। चाप बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले पनि सेवा विस्तारका लागि छुट्टै बजेट विनियोजन गरेको छ।” उनका अनुसार आधुनिक उपकरण थप्ने र परीक्षण कक्ष विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।
नेत्ररोग विशेषज्ञ तथा मेडिकल सुपरिन्टेन्डेन्ट डा. विवेक उपाध्यायका अनुसार अस्पतालमा सामान्य परीक्षणदेखि लिएर जटिल शल्यक्रियासम्मका सेवा आधुनिक प्रविधिसहित उपलब्ध छन्। “मोतीबिन्दुको म्यानुअल एससीएसदेखि फेको इमल्सिफिकेसन प्रविधिसम्मका अपरेसन नियमित रूपमा भइरहेका छन्। आवश्यकताअनुसार बिरामीलाई प्रिमियम क्वालिटीका लेन्स जडान गर्ने सुविधासमेत उपलब्ध छ,” उनले बताए। साधारण दिनमा १५–२० मोतीबिन्दु शल्यक्रिया हुने गरेको र शिविर सिजनमा दैनिक ४०–४५ सम्म अपरेसन हुने अस्पतालको अनुभव छ। जलबिन्दु परीक्षणका लागि भिजुअल फिल्ड तथा फण्डस फोटो सेवा उपलब्ध भए पनि अत्याधुनिक रेटिना परीक्षणका लागि हाल बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ।
ओपीडी इन्चार्ज इन्दिरा उदय जोशीका अनुसार हाल भाइरल कन्जक्टिभाइटिसका बिरामी अत्यधिक बढेका छन्। उनले भनिन्, “मनसुन ढिलो सुरु हुँदा फोहोर पानी जम्ने समस्या थपियो, जसले आँखा पाक्ने संक्रमण बढाएको छ।” उनका अनुसार एउटै टावेल प्रयोग नगर्ने, आँखा नछुने, भीडभाडमा सावधानी अपनाउने तथा मेडिकलबाट जथाभावी औषधि नलिनेजस्ता सामान्य उपाय अहिले अत्यन्तै महत्वपूर्ण छन्। समयमै उपचार नहुँदा केही बिरामीमा आँखाको नानीमा घाउ बनेर महिनौँसम्म समस्या देखिने गरेको अनुभव उनले सुनाइन्।
समुदायस्तरीय आँखा शिविर तथा विद्यालय कार्यक्रमले पनि उल्लेखनीय प्रभाव पारिरहेको बाह्य कार्यक्रम संयोजक मनोहर न्यौपाने बताउँछन्। उनका अनुसार प्रत्येक वर्ष करिब ३० आँखा शिविर सञ्चालन हुँदै आएको छ, जसबाट ३०–३५ हजार नागरिकले प्रत्यक्ष सेवा प्राप्त गर्छन्। विद्यालयस्तरीय परीक्षणमा धेरै विद्यार्थीले पहिलोपटक आफ्नो दृष्टिदोषबारे थाहा पाउने गरेको र मोबाइल–स्क्रिनको अत्यधिक प्रयोगले दृष्टिदोष बढिरहेको हुँदा अभिभावक र विद्यालय दुवैलाई निरन्तर सचेतना आवश्यक रहेको उनले बताए।
बढ्दो बिरामी चाप, सेवा विस्तारको आवश्यकता र प्रविधिगत उन्नतिको लक्ष्यसहित बुटवल लायन्स आँखा अस्पतालले आधुनिक उपकरण थप्ने, भौतिक संरचना सुधार गर्ने तथा समुदायस्तरका जनचेतना कार्यक्रमलाई अझ बलियो बनाउने तयारी अघि सारेको छ। अस्पतालका अनुसार सुरक्षित, किफायती तथा गुणस्तरीय आँखासेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ भविष्यमा यो संस्थालाई अत्याधुनिक सेवा केन्द्रका रूपमा थप उन्नत बनाउने योजनासमेत अघि बढाइएको छ।