काठमाडौं, २७ मंसिर — सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणले नयाँ च्याम्पियन पाउने भएको छ। पहिलो उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन्। फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ।
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ हुँदै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ। दुवै टोलीमध्ये जसले जिते पनि एनपीएलले नयाँ विजेता पाउने निश्चित छ।
पहिलो संस्करणमा फाइनल पुगेको सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो। यसपटक लिग चरणमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहँदै सुदूरपश्चिमले पहिलो क्वालिफायर जितेर सिधै फाइनलको टिकट काटेको हो। दोस्रो प्रयासमा उपाधि जित्ने लक्ष्यसहित सुदूरपश्चिम मैदान उत्रनेछ।
अर्कोतर्फ, लुम्बिनी लायन्सले यस सिजन उतारचढावपूर्ण यात्रा तय गरेको छ। सुरुवाती खेलमा जित निकालेपछि लगातार तीन हार बेहोरेको लुम्बिनीले अन्तिम तीन खेल जित्दै प्लेअफमा स्थान बनाएको थियो। इलिमिनेटरमा काठमाडौैंलाई ४ विकेटले र दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी फाइनल पुगेको हो।
यो फाइनललाई नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको उपाधि भिडन्तका रूपमा पनि हेरिएको छ। सुदूरपश्चिमको कप्तानी दीपेन्द्रले सम्हालेका छन् भने लुम्बिनीको नेतृत्व रोहितले गरिरहेका छन्।
दुवै टोलीको लय
लिग चरणमा लगातार ६ खेल जित्दै शीर्ष स्थान सुरक्षित गरेको सुदूरपश्चिम अन्तिम लिग खेलमा विराटनगरसँग पराजित भए पनि पहिलो क्वालिफायरमा पुनः विराटनगरलाई हराउँदै फाइनल पुगेको हो। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सन्तुलित देखिएको सुदूरपश्चिम उपाधिको प्रबल दाबेदार मानिएको छ।
लुम्बिनीले प्रतियोगिताको बीचमा टिम संयोजन र विदेशी खेलाडी परिवर्तन गर्दै सकारात्मक नतिजा निकालेको छ। पछिल्ला खेलहरूमा बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राखेको लुम्बिनी त्यो लयलाई फाइनलमा पनि निरन्तरता दिने लक्ष्यमा छ।
हेड–टु–हेड
एनपीएलका दुवै संस्करणमा सुदूरपश्चिम र लुम्बिनी दुईपटक आमनेसामने भएका छन् र दुवै खेलमा सुदूरपश्चिम विजयी भएको छ। गत संस्करणमा सुदूरपश्चिमले ४२ रनको जित निकालेको थियो भने यस संस्करणमा ७ विकेटले सहज जित हात पारेको थियो।
प्रभाव पार्न सक्ने खेलाडी
सुदूरपश्चिमका लागि ब्याटिङमा विनोद भण्डारी (८ खेलमा २६४ रन), आरिफ शेख (१८० रन) र दीपेन्द्रसिंह ऐरी (१४९ रन) महत्वपूर्ण छन्। बलिङमा अविनाश बोहरा (१६ विकेट), हर्मीत सिंह (१२ विकेट) र स्कट कुग्लेइन (१० विकेट) प्रभावकारी देखिएका छन्।
लुम्बिनीका लागि ब्याटिङमा कप्तान रोहित पौडेल (९ खेलमा २६० रन), अस्ट्रेलियन डार्शी शर्ट (२४२ रन) र निरोशन डिक्वेलाको भूमिका अहम हुनेछ। बलिङमा शेर मल्ल (१४ विकेट) र रुबेन ट्रम्पलमन (१२ विकेट) विपक्षीका लागि चुनौती बन्न सक्छन्।
खेल विवरण
खेल : सुदूरपश्चिम रोयल्स बनाम लुम्बिनी लायन्स (फाइनल) समय : दिउँसो ३:३० बजे स्थान : त्रिवि क्रिकेट रंगशाला मौसम : प्रायः सफा, बेलुका हल्का डिउको सम्भावना
सम्भावित ११
सुदूरपश्चिम रोयल्स : विनोद भण्डारी, मुख्तार अहमद/पुनीत मेहरा, शेल्डन ज्याक्सन, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, हर्मीत सिंह, स्कट कुग्लेइन, अविनाश बोहरा, हेमन्त धामी, मिलन बोहरा
लुम्बिनी लायन्स : डार्शी शर्ट, दिनेश अधिकारी, रोहित पौडेल, दिलिप नाथ, निरोशन डिक्वेला, जेजे स्मिथ, सन्दीप जोरा, शेर मल्ल, रुबेन ट्रम्पलमन, अभिषेक गौतम, तिलकराज भण्डारी