Advertisement

शुद्धोदनमा महिलालाई लक्षित पाँच दिने अचार बनाउने तालिम सम्पन्न

रुपन्देहीको शुद्धोदन गाउँपालिका–४ फर्साटिकरस्थित सौ. फर्साटिकर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तथा शुद्धोदन गाउँपालिका वडा नं. ३ को आर्थिक सहयोगमा सञ्चालन गरिएको पाँच दिने सिपमूलक अचार बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ।

शुद्धोदन–३ स्थित सियाभार मन्दिरको सभाहलमा सम्पन्न समापन कार्यक्रम सौ. फर्साटिकर सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष रामेश्वरी सिंहको अध्यक्षता तथा शुद्धोदन गाउँपालिका वडा नं. ३ का अध्यक्ष हेम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

समापन कार्यक्रममा प्रमुख अतिथि खड्काले जीवनभर सिकाइ निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै हरेक व्यक्तिले दैनिक नयाँ ज्ञान हासिल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय उत्पादनको प्रयोग गरी अचार बनाएर महिलाहरूलाई आयआर्जनमा जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउँदै सहभागीहरूको मागअनुसार आगामी दिनमा थप एडभान्स तालिमको व्यवस्था गरिने जानकारी दिनुभयो।

तालिममा ४५ जना महिलाको सहभागिता रहेको थियो। गाउँमै बसेर केही गर्न चाहने स्थानीय महिलालाई सिप प्रदान गरी पेसा तथा व्यवसायमा आबद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाकी अध्यक्ष रामेश्वरी सिंहले बताउनुभयो।

कार्यक्रममा शुद्धोदन–३ की वडा सदस्य णम कुमारी पंगेनी, वडा सचिव शारदा भुसाल, संस्थाकी सल्लाहकार शोभा आले, प्रशिक्षक रेशम सिंह ठकुरी, बुद्धज्योती टोल विकास संस्थाका अध्यक्ष हुमलाल खनाल, बेतही टोल विकास संस्थाका अध्यक्ष सुदिप भण्डारी, सहभागी वृन्द्रा अर्याल, दुर्गा बस्याललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

संस्थाका उपाध्यक्ष नवराज आचार्यको स्वागत मन्तव्य तथा सामाजिक परिचालिका अन्जना रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *