बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका–४ मा सञ्चालन भइरहेको १३औँ शुद्धोदन फर्साटिकर कप फुटबल प्रतियोगिताको दोस्रो दिन बुधबार चादनी युवा क्लब विजयी भएको छ।
फर्साटिकर युवा क्लबको आयोजनामा सम्पन्न चादनी युवा क्लब र सम्पूर्ण युवा क्लबबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रवेश गरेको थियो। टाइब्रेकरमा चादनी युवा क्लबले ५–४ गोलको अन्तरले सम्पूर्ण युवा क्लबलाई पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको हो।
निर्धारित समयभित्र दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चादनी युवा क्लबका गोलरक्षक करण क्षेत्री ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई फर्साटिकर युवा क्लबका सल्लाहकार तथा निवर्तमान अध्यक्ष मुकेश कुँवरले पुरस्कार प्रदान गर्नुभयो।
प्रतियोगिता अन्तर्गत बिहीबार गोर्खा ब्वाइज बुटवल र न्यू युथ युनियन पाल्पाबीच प्रतिस्पर्धा हुने खेल संयोजक रवि खड्काले जानकारी दिनुभयो।