Advertisement

आयोजक फर्साटिकरलाई पराजित गर्दै भैरव स्पोर्ट्स क्लब सेमिफाइनलमा

रुपन्देही। जारी १३औँ शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा भैरव स्पोर्ट्स क्लब, नवलपरासी प्रवेश गरेको छ।
मंगलबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा भैरव स्पोर्ट्स क्लबले आयोजक फर्साटिकर युवा क्लबलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो।
निर्धारित समयमा भैरवका फागुराम थारुले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको अन्तिम क्षणतिर फर्साटिकर युवा क्लबका राज भुसालले बराबरी गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो। पेनाल्टी शुटआउटमा भैरव स्पोर्ट्स क्लब ७–६ गोल अन्तरले विजयी बन्यो। खेलमा भैरवका गोलरक्षक भिम मगर म्यान अफ दि म्याच घोषित भए।
प्रतियोगिता अन्तर्गत पुस २३ गते बुधबार पहिलो सेमिफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र कपिलवस्तु–११ बीच हुने खेल संयोजक रवि खड्काले जानकारी दिए।
फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, फर्साटिकर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिए। प्रतियोगिताको फाइनल खेल पुस २६ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *