रुपन्देही।
शुद्धोदन गाउँपालिकाले सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई लक्ष्य गर्दै सरोकारवालासँग प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, फोहोर व्यवस्थापन, नदिजन्य उत्खनन, नदी तटबन्ध, छाडा पशुचौपाया व्यवस्थापन, लक्षित वर्गका कार्यक्रम तथा बजेट कार्यान्वयनलगायत विषयमा सहभागीहरूले गुनासा तथा सुझाव राखेका थिए।
कार्यक्रममा अध्यक्ष बस्यालले गाउँपालिका जनताको अभिभावक भएको उल्लेख गर्दै सेवा प्रवाहका क्रममा देखिएका कमजोरीहरू निर्धक्क रूपमा राख्न आग्रह गर्नुभयो। उहाँले सार्वजनिक सुनुवाइमा उठेका विषयहरूलाई कार्यपालिकाको बैठकमार्फत योजना बनाई क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै जनताको सन्तुष्टिलाई आफ्नो प्रमुख उपलब्धि मानेको बताउनुभयो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा बौद्धलाल शर्मा, रुक्मागत खनाल, सुवासी तिवारीलगायत स्थानीय वक्ताहरूले बोल्दै स्थानीय तहले जनतालाई सहज, छरितो र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न निरन्तरता दिनुपर्नेमा जोड दिए। उनीहरूले गाउँपालिका र वडा कार्यालयमार्फत प्रदान गरिने सेवामा पारदर्शिता र उत्तरदायित्व कायम राख्नुपर्ने र स्थानीय सरकार सचेत हुनुपर्नेमा पनि आग्रह गरे। साथै जनताले पनि आफ्ना अधिकार र कर्तव्यप्रति सचेत भएर नियमित रूपमा अनुगमन गर्नुपर्ने बताए।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले आर्थिक वर्ष ०८२/८३ का हालसम्मका गतिविधि र उपलब्धिबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। विभिन्न शाखा प्रमुख, जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
रेडियो शुद्धोदनको सहजीकरणमा सम्पन्न कार्यक्रम गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागत मन्तव्यसहित सुरु भएको थियो भने कार्यक्रम सहजीकरण पत्रकार रवि रानाले गर्नुभएको थियो।