रुपन्देही–१३औं शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगितामा कपिलवस्तु–११ फाइनलमा प्रवेश गरेको छ। बुधबार पहिलो सेमिफाइनल खेलमा कपिलवस्तुले लिस्नु युवा क्लब, कोटिहवालाई गोलरहित बराबरीपछि पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो। खेलमा कपिलवस्तुका गोलरक्षक प्रतिक सुनार म्यान अफ द म्याच भए ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पुष २४ गते बिहीबार झरना स्पोर्टस क्लब, कुञ्जलापुर र भैरव स्पोर्टस क्लब, नवलपरासीबीच हुने आयोजक रवि खड्काले जानकारी दिएका छन्।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ३,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आर्थिक संयोजक सिद्धान्त भट्टराईले बताए। फाइनल खेल पुष २६ गते हुने छ।