रुपन्देही ।
फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, फर्साटिकरको आयोजनामा सम्पन्न १३औँ शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि झरना स्पोर्टस क्लब, कुञ्जलापुरले जितेको छ।
शनिबार सम्पन्न फाइनल खेलमा झरनाले कपिलवस्तु–११ फुटबल क्लब, कपिलवस्तुलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। झरनाको जितमा संजय थारु र सुरज थारुले एक–एक गोल गरेका थिए।

उपाधिसँगै झरना स्पोर्टस क्लबले ३ लाख ११ हजार १११ रुपैयाँ नगद, ट्रफी तथा मेडल प्राप्त गरेको छ। उपविजेता बनेको कपिलवस्तु–११ ले १ लाख ५५ हजार ५५५ रुपैयाँ नगद, ट्रफी र मेडलमा चित्त बुझाएको छ।
प्रतियोगिताका विधागत पुरस्कारहरूमा पनि झरनाको वर्चस्व देखिएको छ। झरनाका संजय थारु फाइनल खेलका म्यान अफ द म्याच घोषित हुँदै ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। त्यस्तै, लक्ष्मण थापा प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी चुनिँदै १५ हजार ५५५ रुपैयाँ नगद तथा कप हात पारे।
यसैगरी, सर्वाधिक गोलकर्ताको उपाधि सुरज थारुले १० हजार ५५५ रुपैयाँ नगद तथा कपसहित प्राप्त गरे भने उत्कृष्ट गोलरक्षकको पुरस्कार अनुप रानाले १९ हजार ५५५ रुपैयाँ नगद तथा कपसहित जिते। उदयमान खेलाडीको उपाधि ५ हजार ५५५ रुपैयाँ नगद तथा कपसहित प्रदान गरिएको आयोजकले जनाएको छ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का अध्यक्ष केश प्रसाद अधिकारी, आयोजक क्लबका अध्यक्ष अमृत खड्का, संरक्षक चक्र बहादुर कुँवर, निवर्तमान अध्यक्ष मुकेश कुँवर लगायतले विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका थिए।