Advertisement

लायन्स क्लब अफ शुद्धोदनद्वारा भव्य फेलोसिप कार्यक्रम

देवदह,रुपन्देही ।
लायन्स क्लब अफ शुद्धोदनले देवदहस्थित बुद्धबाटिकामा फेलोसिप कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शुक्रबार आयोजित फेलोसिप(वनभोज) कार्यक्रममा विविध खेलकुद प्रतियोगिता, सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा विविध मनोरञ्जनात्मक  कार्यक्रम गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले लायन्स क्लब स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो। उहाँले लायन्स क्लबले समाजमा सकारात्मक परिवर्तन ल्याउन खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा गाउँपालिकाले लायन्ससँग सहकार्य गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी लायन्स इन्टरनेसनल ३२५ पि वर्ष २०२५/२६ का डिष्ट्रिक्ट गभर्नर पिएमजिएफ लायन बालाराम भट्टराईले लायन्स क्लब सामाजिक सेवाको प्रभावकारी अभियान भएको बताउनुभयो। यस्ता फेलोसिप कार्यक्रमहरूले सदस्यहरूबीच आपसी समझदारी, मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने उहाँको धारणा थियो।

कार्यक्रमको अवसरमा लायन्स क्लबका गतिविधिहरूको प्रचार–प्रसार तथा संस्थागत विकासमा योगदान पुर्‍याएका पत्रकार अर्जुन खत्री, नगेन्द्र केसी, रवि राना, कृष्ण पौडेल, चित्र गुरुङ तथा नृत्यांगना सानिया चालिसेलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूले लायन्स क्लबले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल पेट्रोलियम राष्ट्रिय डिलर्स एसोसिएसनका सचिव तथा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरे, लायन्स इन्टरनेसनल ३२५ पिका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर एमजिएफ लायन सन्दिप कसौधन, लायन्स क्लबका सल्लाहकार कपिल अर्याल, सुबेक्षक संगम न्यौपाने तथा पत्रकार अर्जुन खत्री लगायत वक्ताहरूले लायन्स क्लब अफ शुद्धोदनले स्थानीय तहमा सामाजिक सेवामार्फत प्रभावकारी भूमिका निर्वाह गर्दै आएको धारणा व्यक्त गर्नुभयो।

यसैबीच, लायन्स क्लब अफ शुद्धोदनका अध्यक्ष सुनिल थापा क्षेत्रीले देउसी–भैलो २०८२ कार्यक्रमबाट संकलित रकम शुद्धोदन गाउँपालिका–३ स्थित सियाभार मन्दिर परिसरमा “लायन्स बाटिका” निर्माणका लागि खर्च भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार बाटिका निर्माण कार्य चरणबद्ध रूपमा अगाडि बढिरहेको छ र निर्माण सम्पन्न भएपछि यसले धार्मिक महत्वका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा देउसी–भैलो कार्यक्रममा सक्रिय सहभागिता जनाएका सदस्यहरू, क्लबका सदस्यहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ शुद्धोदनका सहसचिव अर्जुन पौडेलले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *