Advertisement

रुपन्देहीमा चुनाव केन्द्रित जेन्जी बहस,एजेन्डा स्पष्ट नगर्ने उम्मेदवारलाई मत नदिने निष्कर्ष

रुपन्देही । आसन्न निर्वाचनलाई लक्षित गर्दै रुपन्देही क्षेत्र न. ३ का जेन्जी युवाहरूले कुनै पनि राजनीतिक दलको पक्षमा नलागी एजेन्डा र कार्ययोजनाका आधारमा मात्र मत हाल्ने निर्णय गरेका छन्। शुद्धोदन गाउँपालिका वडा नं. ३ स्थित सियाभार मन्दिर परिसरमा आयोजित शुद्धोदन,सियारी गाउँपालिका र बुटवल उपमहानगरका जेन्जी युवा भेलामा सहभागी युवाहरूले सचेत मतदाता बनेर उम्मेदवारलाई प्रश्न गर्ने अभियान अघि बढाउने बताएका हुन्।
भेलामा सहभागी युवाहरूले राजनीतिक दल वा स्वतन्त्र उम्मेदवार जोसुकै भए पनि स्पष्ट एजेन्डा, ठोस कार्ययोजना र जवाफदेही प्रतिबद्धता प्रस्तुत गर्न नसक्ने उम्मेदवारलाई मत नदिने स्पष्ट पारे। विशेषगरी रुपन्देही निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवारलाई लक्षित गरी प्रत्यक्ष प्रश्न गर्दै स्थानीय मुद्दामा धारणा सार्वजनिक गराउन दबाब दिने तयारी रहेको जनाइएको छ।
कार्यक्रममा बोल्ने जेन्जी वक्ताहरूले दलगत समर्थनभन्दा माथि उठेर मुद्दा केन्द्रित राजनीति आवश्यक रहेको बताए। उनीहरूले जेन्जी युवाहरूलाई संगठित भई स्थानीय समस्या र सुशासनका पक्षमा सक्रिय भूमिका खेल्न आग्रह गरे।
छलफलका क्रममा सुकुम्बासी समस्या, शैक्षिक बेरोजगारी, बढ्दो ब्रेन ड्रेन, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, राजनीतिक टकराव तथा विकासमा देखिएको भेदभाव प्रमुख मुद्दाका रूपमा उठाइएका थिए। बुटवल र भैरहवालाई मात्र केन्द्रमा राखेर विकास योजना अघि बढाइँदा ग्रामीण क्षेत्र पछाडि परेको गुनासो पनि युवाहरूले व्यक्त गरे।
युवाहरूले स्थानीय तहमा बजेट फ्रिज हुने अवस्था, नदिजन्य पदार्थको अवैध दोहन, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षित रूपमा प्रयोगमा नआउनु लगायतका विषयमा उम्मेदवारको स्पष्ट धारणा र प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
समग्रमा युवाहरूले चुनावमा मत माग्न आउने सबै उम्मेदवारसँग संवाद गर्दै एजेन्डा स्पष्ट गराउने, चुनावपछि पनि प्रतिबद्धताको कार्यान्वयनमा निगरानी गर्ने र सही उम्मेदवार छनोटमार्फत रुपन्देहीको राजनीतिलाई उत्तरदायी बनाउने निष्कर्षसहित कार्यक्रम सम्पन्न गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *